काठमाडौँ ः प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् ।

 

प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए ।

 

सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए ।

 

काङ्ग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

 

पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो ।

 

बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो ।

 

यसैबीच सभामुखले संसदीय सर्वोच्चता कायम गर्नका लागि संसद् चलाउने वातावरण बनाउन र छलफल गर्न दिन आग्रह गर्नुभयो ।

 

उहाँले सांसदहरुले उठाउनुभएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद् चल्न दिन र आ–आफ्नो आसनमा बस्न पटकपटक आग्रह गर्नुभयो ।

 

सभामुख महराले प्रतिनिधिसभाको बैठक नचल्दा देश र जनताको विविध विषय छलफलमा जान नपाएको भन्दै विरोध गरेर समय खेर नफाल्न आग्रह गर्नुभयो ।

 

सभामुखको आग्रहलाई अस्वीकार गर्दै काङ्ग्रेस र राजपाका सांसदले लगातार नाराबाजी गर्दै संसदीय सर्वोच्चता कायम गर्न माग गरेका थिए ।

 

लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभयो ।

बैठक १ बजे शुरु भएको थियो ।

विपक्षी दलका सांसदले करिब ४० मिनेट नाराबाजी गरेका थिए ।

 

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते  ११ बजे बस्ने गरी स्थगित भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version