काठमाडौं : सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ६९ हजार ५०० रुपैयाँ पुगेको छ ।
मंगलबारको तुलनामा यस दिन भाउ १५ सय रुपैयाँले वृद्धि भएको हो । यो अहिलेसम्मकै उच्च मूल्य पनि हो । यसअघि मंगलबार पनि सुनको भाउ २ सय रुपैयाँले बढेर प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा तेजाबी सुन पनि प्रतितोला ६९ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुन पनि मंगलबारको तुलनामा १५ सय रुपैयाँले बढेको हो ।
नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
विश्व बजारमा प्रतिआउन्स ०.९९% ले बढेर १ हजार ४९१.२५ डलर सम्म पुगेको छ । यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ४१४ डलरसम्म पुगेको थियो ।
