काठमाडौं: आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै उपभोक्ता अधिकार स्थापित गराउन सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य थालेको छ।
अन्य समयको तुलनामा चाडपर्वमा उपभोक्तामाथि विभिन्न नाममा ठगी हुने गरेका विगतको उदाहरणबाट पाठ सिक्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सातै प्रदेशका वाणिज्य तथा आपूर्तिसँग सम्बन्धितमन्त्री, महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुखसँग छलफल गरेको हो।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन तीनै तहको सरकारको समन्वयात्मक भूमिकाको खाँचो औँल्याए। प्रदेश र स्थानीय सरकारलाई विश्वासमा लिएर आपूर्ति व्यवस्थापनमा सङ्घीय सरकारले नयाँ कामको शुरुवात गरेको उल्लेख गर्दै उनले तीनवटै सरकारको साझा प्रयासबाट मात्र आपूर्ति व्यवस्थापन सहज हुने बताए।
“चाडपर्वमा आपूर्तिमा व्यवधान आउने विगतमा हामीले देखेका छौँ, विभिन्न वहानामा उपभोक्ता ठगिने अवस्था छ”, मन्त्री यादवले भने, “जनतालाई मुलुकमा सरकार छ भन्ने अनुभूति गराउनुपर्छ। समस्याको समाधान गर्दै जनजीवन सहज बनाउन हामी सबैले भूमिका खेल्न जरुरी छ।”
छलफलमा सहभागी प्रदेश नं ३ का उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले सीमित स्रोत र साधनकाबीच उपभोक्ता अधिकारलाई संरक्षित गर्न प्रदेश सरकार क्रियाशील रहेको उल्लेख गर्दै स्थानीय सरकारलाई यथोचित अधिकार दिएर बजार व्यवस्थापनमा जिम्मेवार बनाइनुपर्ने बताए।
