काठमाडौँ: बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ ।
विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो जानकारी दिएका हुन् ।
समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुलहरु तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्याएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलहरुको जीर्णोद्धार तथा पुनर्निर्माणको काम कसले गर्ने भन्ने अन्यौल अन्त्य गर्न पनि भनेको छ । बैठकमा सांसद प्रभु साहलगायतले संघ, प्रदेश र स्थानीय सरकारको हानथापका कारण वर्षाले क्षति पुर्याएका संरचना पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताएका थिए ।
बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने जवाफ दिएका थिए । त्यसका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी उनले गराए ।
बैठकमा मन्त्री महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी उनले गराए ।
