काठमाडौं : सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ। जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरू कडा सजायको भागीदार हुने भएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। अहिलेसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ।

किर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नुपर्नेछ। उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकतासमेतको अभियोगमा कसुरको गाम्भीर्य र दर्जाबमोजिम जेल चलानसम्मको तयारीमा सैनिक नेतृत्व पुगेको स्रोतले बताएको छ।

जंगीअड्डाले एक सहायक रथीको संयोजकत्वमा समिति बनाई वरिष्ठ अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गरिरहेकोे छ। सैनिक मुख्यालयले केही महिनाअघि मात्र बढुवा भएका एक उपरथी र उपरथीमा बढुवा सिफारिस भएका सहायक रथीको जन्ममिति छानबिन गरिरहेको छ। उच्च सैनिक स्रोतका अनुसार उपरथी पदमा बढुवा पाएका ताराध्वज पाण्डे र सहायक रथी अशोकराज सिग्देलको जन्ममितिबारे छानबिन भइरहेको हो।

पाण्डे र सिग्देलले सैनिक नेतृत्वसम्म पुग्ने आसमा जन्ममिति किर्ते गरेको स्रोेतले बताएको छ। दुवैको विद्यालय तहमा दर्ता र सैनिक अभिलेखमा भएको जन्ममिति फरक–फरक देखिएको छ। रक्षा मन्त्रालय र जंगीअड्डामा उपरथी पाण्डे र सहायक रथी सिग्देलविरुद्ध छुट्टाछुट्टै उजुरी परेको पुष्टि भएको छ। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version