काठमाडौं: डेढ महिनादेखि बानेश्वरस्थित आकाशेपुल निर्माण कार्य भइरहँदा ट्राफिकको अवस्था नाजुक बनेको छ ।
निर्माणका सामानहरु बाटोमै राखिँदा साँघुरिँदै गएको सडकका कारण विशेषतः पैदलयात्रीलाई पेटीबाट हिडडुल गर्न निकै मुश्किल हुने गरेको छ ।
चोकैमा रहेको विभिन्न एटिएम बुथमा कार्यरत २८ वर्षीया मिरा खत्रीका अनुसार आकाशेपुल बनाउने काम गर्न थालेको महिनादिन वितिसक्दा पनि पिलर राख्ने बाहेक अन्य काम भएको छैन । जसले गर्दा पानी पर्दा पैदलयात्रुलाई हिडन समस्या भइरहेको उनले बताइन ।
पहिल्यै देखि भीड हुने बानेश्वर चोकैमा अहिले निर्माण कार्यका कारण पैदलयात्रु खाल्डो खनेको ठाउँमा लड्नुको साथै मोटरसाइकल दुर्घटना धेरै हुने गरेको उनी बताउछिन ।
सामान्य दिनमा समेत ट्राफिक अवस्था अस्तव्यस्त हुने यस स्थानमा अव्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएका कारण झनै ट्राफिक समस्या बढेको स्थानीय रिता दाहालले बताइन ।
निर्माण कार्य परियोजनाका सुपरभाइजर अनुप प्रधानका अनुसार ९ महिनाको योजना राखेर काम अगाडि बढाइएको छ । अहिले २५ प्रतिशत काम सकिसकेको उनले जानकारी दिए ।
