काठमाडौं : राजधानीबासी अहिले तोकिएको खुद्रा मूल्य भन्दा दोब्बर भाउमा तरकारी किन्न बाध्य भएका छन । खुद्रा बजारमा अहिले राजधानीका उपभोक्ताले गोलभेडाँ प्रतिकिलो १२० रुपैयाँसम्म किन्न बाध्य भएका छन ।
नेपाली गोलभेडाँको थोक मूल्य प्रतिकेजी ५० र भारतीय गोलभेडाँको प्रतिकेजी ७० मा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका होलसेलर भगवान चन्द्र उप्रेतीले बताए ।
उनका अनुसार हाल बजारमा तरकारीको मूल्य बढ्नुको मुख्य कारण लगातारको वर्षात हो । लगातार परेको पानीका कारण तरकारी चाँडै कुहिएको र भारतीय तरकारी पर्याप्त मात्रामा नेपाल भित्रिन नपाउँदा नेपाली तरकारी बजारमा यसको मूल्य आकासिएको अनुमान उनको छ ।
कोटेश्वरको एक तरकारी पसलमा भेटिएकी विनता निरौलाले भनिन् “ पहिले पहिले दुई सय रुपैयाँमा पनि धेरै तरकारी पाइन्थ्यो, सस्तो थियो तर अहिले पाँच सय र हजारमा पनि मनलाग्दो तरकारी पाउनै छोडियो । ” दिक्दार लागेको आवाजमा उनले थपिन, “ यस्तै महंगी रहीरहने हो भने काठमाडौंमा बस्न सकिन्न । ”
त्यसैगरी बानेश्वर निवासी सितादेवी कार्कीले श्रीमानले तरकारीका लागि छुट्याएको बजेट अपुग हुने गरेकाले आफ्नै खल्तीबाट अरु पैसा थप्ने गरेको अनुभव सुनाइन ।
त्यस्तै स्थानीय बासिन्दा दिपेश भण्डारीले आफ्नो आम्दानी अहिले कोठा भाडा तिर्दा र तरकारीमै सिमित हुने गुनासो पोखे ।
बानेश्वरमा तरकारी व्यवसाय चलाइरहेकी स्थानीय सानीमाया थापा भन्छिन, “तरकारीहरु कालिमाटी होलसेल पसलमै बढेर आएकोले हामीले पनि महंगोमै बेच्न बाध्य छु । पहिले पहिले त होलसेल मूल्य सस्तो थियो र हामीलाई पनि खुद्रामा विक्रि गर्न सजिलो थियो । तर त्यो समय अब रहेन ।”
उपभोक्ताहरुले भनेजस्तै कालीमाटी तरकारी बजार र स्थानीय बजारहरुमा पाइने तरकारीको खुद्रा मूल्यमा ठुलो अन्तर छ ।
हेर्नुहोस स्थानीय बजारमा पाइने तरकारीको मूल्य तालिका :
