गोरखा: समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्र्ने शर्तमा दुईतिहाइ पु¥याइदिन सत्ता गएको बताउनुभएको छ ।

 

नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुग्नुभएका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताउनुभएको हो ।

उहाँले जुन शर्तमा पार्टी सत्तामा गएको छ, त्यही शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य नहुनेसमेत बताउनुभयो ।
संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरुको भन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय भएको उहाँले बताउनुभयो ।

 

“अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम चालिएको छैन, हामीले जनतालाई यर्थाथ भन्नुपरेको छ”, अध्यक्ष यादवले भन्नुभयो, “हुन्न नै भनेर हामीले भन्न सक्ने अवस्था पनि छैन ।”

 

समाजवादी पार्टीले पहिचान, निर्वाचन प्रणाली, शासकीय स्वरुप र असमान र विभेदकारी व्यवस्था कहाँ–कहाँ छ त्यसलाई परिमार्जन गर्न चाहेको उहाँले बताउनुभयो । “सविधान संशोधन गर्दिनँ भनेर उहाँहरुले अहिलेसम्म भन्नुभएको छैन”, अध्यक्ष यादवले भन्नुभयो, “तर किन हो ढिलो भइरहेको छ ।”

अध्यक्ष यादवले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारसमेत गर्नुभयो । “कम्युनिष्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो, तर जनचाहनाअनुसार काम हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

 

उप्रधानमन्त्री यादवले सरकारले गरेको राम्रो कामको पार्टीले प्रंशसा गर्ने र नराम्रो कामको आलोचना गर्ने अधिकार आफूसँग भएको पनि बताउनुभयो ।

 

उहाँले पर्याप्त बजेट अभावका कारण स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार गर्न नसकेको उल्लेख गर्नुभयो । “डब्लुएचओले पनि कम्तीमा कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नैपर्छ भनेको छ”, उपप्रधानमन्त्री यादवले भन्नुभयो, “हामीकहाँ कूल बजेटको ४.४८ प्रतिशत बजेट विनियोजन भएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त होइन ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version