काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसलाई आउँदो चुनावसम्म धैर्यधारण गरी चुनावबाट जितेर आउन आह्वान गरेका छन ।
संसदलाई आज सम्बोधन गर्दै ओलीले सरकारले गर्दा अधिनायकवाद फर्कियो भनेर जनतामा छरेको भ्रम केवल मिथ्या हो, यसको कुनै तुक छैन भन्दै कांगे्रसको आरोपपति रोष पकट गरे ।
संबिधानसम्मत ढंगले चल्ने कुरामा यो सरकार विरोध र आलोचनाको स्वागत गर्दछ, तर संविधान अस्विकार गर्छु भन्ने कुरा सरकारलाई मान्य नहुने जिकिर उनको थियो ।
ओलीले लोकतन्त्र विरोधी शक्तिहरु आयो भनेर वर्तमान सरकार लुगलुग कामेर भाग्छ भन्ने कुरा मात्रै दिवा स्वप्न भएको बताए ।
फालिएको शक्तिलाई चिहानमा गएर ब्युताउँने प्रयास गर्नु लोकतन्त्रको निम्ति खतरा हो, उनले भने ।
प्रधानमन्त्री ओलीले जनताको सर्वोच्चतालाई सुरक्षित राख्न वर्तमान सरकार अपराध नियन्त्रण गर्न र भ्रष्टाचारी तथा राजस्व छलछाम गर्ने व्यक्तिलाई कठोर कदमबाट ठेगान लगाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले एक साताभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन हुने उल्लेख गर्दै बाढी पहिरोपीडित परिवारका लागि ८६९ घर निर्माण गरी समाजमा उनीहरुलाई पुनःस्थापित गर्ने लक्ष्य रहेको बताए।
प्रधानमन्त्री ओलीले समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा बनेको संविधानको उपयुक्त कार्यान्वयन गरी जनतालाई सुखी राख्न संसद्मा गतिरोध अफाप सिद्ध हुने बताए।
उनले सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउने र गैरकानूनीरूपले ओगटिएका त्यस प्रकारका जग्गालाई सरकारकै स्वामित्वमा ल्याउने काम अघि बढेको बताए ।
अहिलेको सरकारले गत आर्थिक वर्षमा झण्डै ८ अंकको आर्थिक वृद्धिदर कायम गर्न सफल भएकोले मुलुक समृद्धितर्फ उन्मुख भइरहेको कुरामा आशंका नभएको उनको भनाइ थियो ।
ओलीले आउँदा वर्षहरुमा क्रमिक रुपमा ९, १० अंकको आर्थिक वृद्धिदर कायम गर्ने ठोकुवा गरे । तर यता प्रमुख प्रतिपक्षी दलका नेता डा मिनेन्द्र रिजालले संसदको शुन्य समयमा बोल्दै आर्थिक वृद्धिदरको कुरा होइन, यो सरकारले विनियोजन गरेको बजेट मध्ये पूँजीगत खर्च गर्न समेत सफल नभएको भन्दै ओली सरकारप्रति कटाक्ष गरे ।
