काठमाडौं : टोखा नगरपालिका वडा नं ३ स्थित इन्द्रेणी (भूतखेल) चौरको सार्वजनिक जग्गा मिचेर गर्न लागिएको ३२ फिटको बाटो विस्तारमा राजनीतिक हस्तक्षेप बढेको छ ।
हालै गरिएको हालसाबीमा तोकिएको भन्दा बढी बाटो विस्तारका लागि इन्द्रेणी चौरको सार्वजनिक जग्गामा ठेकेदारको मनोमानी भइरहँदा स्थानीय निकायको असन्तोष बढ्दै गएको छ ।
टोखा मेनरोडदेखि हार्मिन हाउजिङ हुँदै कुइरे कम्पाउण्डका नामले परिचित टर्चासम्म डेढ किलोमिटर बाटो विस्तार गर्न ४ वर्षको आयोजना पुष्पाञ्जली कन्स्ट्रक्सनले ठेक्कामा पाएको छ ।
सो कन्स्ट्रक्सनले विस्तार गर्नुअघि गठन भएको स्थानीय बासिन्दा सम्मिलित समितीमा भएको निर्णयको अवज्ञा गर्दै सार्वजनिक जग्गा मिचेर पर्खाल समेत लगाइसकिएको छ ।
हालसाबीमा इन्द्रेणी चौरसंग जोडिएको बाटो २० फिटको देखाएपनि समितिले दाँयाबाँया गरी चौरको छ फिट र व्यक्तिको छ फिट जग्गामा बाटो विस्तार गर्ने निर्णय भएको वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठले जानकारी दिए ।
तर समितीको निर्णय नमानेर सार्वजनिक चौरको जग्गा मात्रै मिचेर पर्खाल बनाउँदा स्थानीय जनगुनासो बढेको उनले बताए ।
नक्सामा पूर्व फर्किएको बाटोमा बनाइएको पर्खाल भने पश्चिम फर्किएको छ ।
जग्गा विस्तारका क्रममा इन्द्रेणी चौरको संरक्षणका लागि बनाइएको इन्द्रेणी वन उपभोक्ता समितीलाई समेत कुनै जानकारी नदिइ डोजर चलाउने र पर्खाल बनाउने काम भएकोमा उपभोक्ता समितिका अध्यक्ष हरिभक्त श्रेष्ठ असन्तुष्ट छन ।
उपभोक्ता समितीका अध्यक्ष श्रेष्ठका अनुसार पर्खाल बनाउनका लागि चौरको ५ वटा सम्म सल्लाको रुख काट्नु पर्ने भएकाले समितीले पर्खाल ठड्याउने कामलाई हाल रोक्दा राजनीतिक हस्तक्षेप बढेको छ ।
उपभोक्ता समितीलाई वन विभागबाट र वडा कार्यालयलाई नगरपालिका तथा शहरी बिकास तथा भवन निर्माण विभागबाट कुनै पनि औपचारिक पत्र नआएको र आयोजनाबारे कुनै जानकारी विना नै बाटो विस्तार भएका कारण आयोजनाको काम यतिवेला रोकिएको छ । आयोजना अन्तर्गत अन्दाजी ३० फिट पर्खाल बनाउन बाँकी छ ।
आयोजना अन्तर्गतको विस्तार कार्य नरोक्न वडा अध्यक्ष लगायत उपभोक्ता समितीका अध्यक्षले समेत राजनीतिक दबाबको सामना गर्नुपरेको छ ।
हार्मिन हाउजिङमा बस्दै आएका एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईका स्वकिय सचिवले बारम्बार बाटो विस्तार कार्य नरोक्न दबाब दिँदै आएका छन ।
आयोजनाबारे स्थानीय बासिन्दालाई मात्रै नभइ स्थानीय सरकारलाई समेत जानकारी नदिइ बाटो विस्तार थाल्दा समेत चुपै बसेका उनीहरु सहमति बेगर सार्वजनिक जग्गा मिचेपछि भने आक्रोशित भएका हुन ।
बाटो विस्तारका लागि गठित सहमती अनुसार बाटो विस्तार गर्न वडा अध्यक्षले लगातार ठेकेदारसंग ताकेता गरेका छन । अध्यक्षका अनुसार सार्वजनिक जग्गा मिचेर बनाइएको पर्खाल भत्काउन एक साता अघि नै ठेकेदार कम्पनीमा भनेपनि त्यसमा ढिलाइ भइरहेको जानकारी दिए ।
बाटो विस्तार कार्यका बारेमा नेता भट्टराईले यसअघि नै वडा अध्यक्षलाई बोलाई चासो राखेका थिए ।
