काठमाडौँ : पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि सिंगापुर गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ ।
पार्टीको आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सांगठनिक एकताका बाँकी कामबारे अर्को बैठक प्रचण्डले आह्वान गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा प्रधानमन्त्री ओली ७÷१० दिन त्यहाँ रहँदा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी बनेको श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न सिङ्गापुर प्रस्थान गर्दै छन । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिङ्गापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लागेको जानकारी दिए ।
नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।
