काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद चर्कंदै गएको छ। पार्टीमा नेताहरूको जिम्मेवारी बाँडफाँटसँगै मर्यादाक्रम हेरफेर गरिएपछि ओली र नेपालबीच सुरु भएको विवाद चर्कंदै गएको हो।
ओली बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत अस्वीकार गरे। ओलीले आफ्नो स्वास्थ्यका विषयमा नेपालले नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै शुभकामना अस्वीकार गरेका हुन्।
ओली सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। जवाफमा ओलीले ‘तपाईंको शुभकामना चाहिँदैन’ भनेका थिए। यसबारे नेपालले भने, ‘मैले उहाँ (केपी शर्मा ओली) को स्वास्थ्य लाभको कामना गरें तर उहाँले चाहिँदैन भन्नुभयो। उहाँले किन त्यसो भन्नुभयो त्यो विषय म जान्दिनँ।’
बैठकमा ओलीले ‘म उपचारका लागि सिंगापुर जाँदैछु, अब बाँकी सांगठनिक एकीकरणको काम उहाँ (अर्का अध्यक्ष पुष्पकमल दाहालले ) सम्हाल्नु हुने नै छ। तर निर्णय भने मेरो सल्लाहबिना हुनेछैन’ भनेपछि उनी र नेपालाबीच भनाभनसमेत भएको थियो। ओलीले ‘आफ्नो अनुपस्थितिमा पार्टीका बैठकको अध्यक्षता दाहालले गरे पनि निर्णय मेरै सल्लाहमा हुनेछ’ भनेपछि नेपालले ‘यहाँ कोही तलमाथि छैनन्, गम्भीर विषयबाहेक सल्लाहमा मात्रै निर्णय हुनेछ, गम्भीर विषय भए बैठक नै स्थगित गराएर तपार्इंलाई कुर्नु सकिन्छ नत्र बैठकमा निर्णय गर्न कसैले पनि रोक्न सक्दैन, आफूले एक्लै काम गर्न खोज्ने तर अहिले आफू बेगर दायाँबायाँ गर्नुहुन्न’ भन्ने कुरा कसरी आयो भनेपछि विवाद सुरु भएको थियो।
बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार ओलीले ‘तपाईं अध्यक्ष कि म अध्यक्ष’ भनेर नेपाललाई यस्तो कुरा नगर्न भनेपछि नेपालले पनि ‘निर्वाचन (तत्कालीन एमालेको महाधिवेशन) मा तपार्इंको जित र मेरो हार सामान्य मतमा भएको हो, एक्लै पेलेर जान सकिन्छ भन्ने नठान्नुस्’ भन्ने जबाफ दिएका थिए।
त्यस्तै नेपालले स्वास्थ्य लाभको कामना गरेपछि ओलीले ‘मेरो स्वास्थ्यबारे नकारात्मक टिप्पणी गर्दै हिँड्ने मानिस भएकाले तपाईंको शुभकामना चाहिँदैन’ भनेपछि दाहाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए।
‘स्वास्थ्य लाभका लागि दिइएको शुभकामना पनि चाहिँदैन भन्ने कुरा बेठिक भयो, यसलाई ठिक भयो भन्न सक्दैनौं, मानवीय कुराका अगाडि अरु विषय गौण हुन्छन् ’, दाहाल, गौतम र श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो। त्यसपछि ओलीले ‘मलाई मरिहालोस् भन्नेको स्वास्थ्यलाभको शुभकामना कसरी लिनु’ भनेपछि नेपालले ‘मैले त्यो कुरा भनेको प्रमाणित गराउनुस्, छानबिन गर्नुस्, तपार्इंजस्तो निकृष्ट सोच राख्ने व्यक्ति म होइन, त्यस्तो अपराध सोच्न पनि सकिँदैन’ भनेका थिए।
दुई नेताबीच भनाभन भएपछि दाहालले ‘शुभकामना नै लिन्न भन्ने कुरा सुहाउँदो नभएको’ भन्दै बैठक टुंग्याउन आग्रह गरेका थिए। यो खबर नागरिक दैनिकबाट लिइएको हो
