काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सिजरियन सेक्शनबाट सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा जागेश्वर गौतमका अनुसार अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने गरेको छन, तीमध्ये २१ जनाको शल्यक्रिया (सिजरियन सेक्शन) बाट सुत्केरी हुने गरेको छ ।
पछिल्लो समय अस्पतालमा नै सिजरियन सेक्शनबाट बच्चा जन्माउनेको सङ्ख्या वृद्धि भइराखेको छ ।
अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अस्पतालमा कूल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए ।
यसैबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकार क्रियाशिल रहेको बताएका छन ।
“स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ”, उनले भने ।
सेवाको गुणस्तरीय पुहँच पुग्न नसकेका स्थानबाट सरकारले गर्भवती÷सुत्केरी आमालाई हवाई उद्धारको व्यवस्था मिलाएको छ ।हालसम्म ३२ महिलाको उद्धार गरिएको छ ।
प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६०औँ वार्षिकोत्सवका अवरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाइने बताए ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन कार्यान्वयन गर्न नियमावली तयार भएको जानकारी दिँदै उनले प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई थप सहयोग गरिने आश्वासनसमेत दिए ।
यसै अवसरमा उनले स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने चिकित्सक रक्षा पराजुलीलाई पदक तथा अस्पतालमा लामो समय कार्यरत चिकित्सक र नर्सलाई सम्मान गरे ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले अस्पतालका श्यया थप गर्नुभन्दा शहरी क्षेत्रमा अस्पतालले आफ्ना सेवा विस्तार गर्न आवश्यक रहेको सुझाव दिए ।
चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्राडा डिएन साहले न्याम्स र अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेकामा जोड दिए ।
यसैबीच अस्पतालले न्याम्ससितको सहकार्यमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा एमडी÷एमएस को अध्यापनसमेत शुरु गरेको छ । विगत दुई वर्षदेखि अस्पतालले परोपकार नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ ।
अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवाबाट गत वर्ष एक हजार २६६ महिलाले सेवा लिएका थिए ।
विसं २०१६ मा आजकै दिन ४० शयया अस्पतालको सेवा शुरु भएको अस्पतालको श्यया विस्तार हुँदै जाँदा हाल ४८९ पुगेको छ ।
