काठमाडौँ ः राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथि सांसदहरुले उठाएका जिज्ञासा प्रस्ट पार्दै मन्त्री बस्नेतले विधेयकमा कुनै पनि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनलाई कडाइका साथ लागू गर्न विभिन्न व्यवस्था गरिएको जानकारी गराए ।

उनले जलवायु परिवर्तन गम्भीर विषय भएकाले अनुकूलन र न्यूनीकरणका कार्यक्रम समुदायमा आधारित भई स्थानीय स्तरमा लागू गरिएको बताए ।

मन्त्री बस्नेतले विधेयकले सङ्घीयताको नयाँ व्यवस्थाअनुसार, प्रदूषण नियन्त्रणको विषय, विकास र वातावरणबीचको नयाँ बहसलाई पनि आत्मसात् गरेको उल्लेख गरे।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरु कोमल ओली, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशप्रसाद यादव, प्रमिला कुमारी र डा बिमला पौडेलले विधेयकमा भएका केही व्यवस्थाबारे जिज्ञासा राखेका थिए ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वन विधेयक २०७५’ लाई टेबुल गरेका छन ।

राष्ट्रियसभाको अर्को बैठक पर्सी आइतबार भदौ ८ गते दिउँसो १ बजे बस्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version