तनहुँ : तनहुँको व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । उहाँले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको माध्यम बनाउनुभएको छ । उहाँले होलस्टेन र जर्सी जातका दुई÷दुई गाई पाल्नुभएको छ । साथै पाँच रोपनीमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्न थाल्नुभएको छ ।

गाईको दूध बेचेर ४० हजार र तरकारीबाट ४० हजार गरी मासिक ८० हजार रुपैया बचत हुने गरेको आचार्यले जानकारी दिनुभयो । तत्कालिन नेकपा एमाले निकट भातृ सङ्गठन अनेस्ववियु तनहुँ जिल्लाका पूर्वअध्यक्ष तथा अनेस्ववियुको केन्द्रीय सदस्य रहनुभएका युवानेता आचार्य हाल कृषक पेशामा लाग्दा छिमेकीसमेत दङ्ग पर्ने गरेका छन् । गाईको दूध, गहुँत र गोबर बिक्री गरी आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।

एक गाईको दूध बिक्रीबाट मासिक रु १० हजार नाफा हुन्छ । आचार्यले भन्नुभयो, “छिमेकीको दूधसमेत खरीद गरी बिहान र बेलुका चार किलोमिटर परको सदरमुकाम दमौलीमा दूध बेच्छु ।” हाल दैनिक रु ७० देखि ८० लिटर दूध बिक्री हुन्छ । कृषिकर्मलाई जीवनसङ्गिनी भूमिकाले साथ दिँनुभएकोले काम सहज बनेको छ ।

राजनीति भनेको सामाजिक क्षेत्रको हो, आर्थिकरूपमा फाइदा छैन । तर, घरपरिवार चलाउन पैसा जरुरत पर्ने भएकाले मैले कृषि पेशालाई अँगालेको आचार्यको भनाइ छ । उहाँले थप्नुभयो, “गाईको गहुँतले रोग, कीरा नियन्त्रण गर्न सहज हुन्छ, तरकारीका लागि पनि मल पनि राम्रो हुने हुँदा पशुपालन र तरकारी खेतीलाई सँगसँगै लगेको हुँ ।”

समाज सेवामा आफ्नो रुचि रहेकाले राजनीति र कृषिलाई एकैसाथ लैजाने योजना रहेको आचार्य बताउनुहुन्छ । “बिहान र बेलुका कृषि पेशा गर्छु, दिउँसो बचेको समय राजनीतिमार्पmत सामाजिक क्षेत्रमा लाग्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो ।

आचार्यले विसं २०७४ असार ८ गतेबाट आचार्य गाई फार्म दर्ता गरी व्यावसायिकरूपमा कृषि पेशा गर्दै आउनुभएको छ । उक्त पेशाका लागि रु १५ लाख लगानी भएको र हालको भन्दा दोब्बर आम्दानी लिन थप रु १० लाख लगानी गर्ने सोच बनाएको उहाँले बताउनुभयो ।

व्यावसायिक कृषकका लागि बैंकले सहजरूपमा ऋण दिने, आधुनिक कृषियन्त्रमा सहुलियत दिने र सरकारले कृषकको सामान खरीद गरेर बिक्री वितरणको सुरक्षा लिने हो भने विदेश गएका युवाहरु स्वदेश फर्किएर कृषि पेशा गर्न सक्ने आचार्यको सुझाव छ ।

“कृषि पेशामा दुःख गरेअनुसार आम्दानी नभएकाले युवाहरु कृषि पेशाप्रति आकर्षित हुन नसकेका हुन्”, उहाँले भन्नुभयो, “राज्यले किसानको उत्पादन बिक्री वितरण गरिदिन्छौँ भनेर निश्चितता गर्ने हो भने बिचौलियाको अन्त्य हुनुका साथै कृषि पेशातर्फ मानिसहरु आकर्षित हुन सक्छन् ।”

कृषिसम्बन्धी नीति बनाउँदा कृषकलाई नै राखेर बनाउनुपर्छ । उहाँले भन्नुभयो, “किसान राखेर नीति बनाउनसके मात्रै किसानमैत्री नीति बन्न सक्छ र वास्तविक किसान लाभान्वित हुन सक्छन् ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version