काठमाडौँ: नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार राति प्रहरीको नियन्त्रणमा रहेका चिनियाँबारे थप विवरण सार्वजनिक भएको छ।
पक्राउ परेका पाँच जना चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंग रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १र१ थान समेत बरामद गरेको छ।
पाँचै जनाविरूद्ध बैंकिङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने उनले बताए। उनीहरुलाई पाटन उच्च अदालत पेस गरी त्यहाँबाट म्याद थप हुनेछ। त्यस्तै उक्त घटनामा फरार तीन जनाको खोजी जारी रहेको काठमाडौं प्रहरीको भनाइ छ।
चिनियाँ नागरिकबाट सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैंकहरूले एटीएम सिस्टम डाउन गरेका थिए। प्रहरीका अनुसार चीनबाट शुक्रबार उनीहरु नेपाल आएका थिए। सोमबार र मंगलबार आलोपालो गरी चीन फिर्ता हुने उनीहरूको योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यसरी समातिएका थिए चिनियाँ ह्याकर
प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार शनिबार राति विशेष सूचनाको आधारमा पैसा निकाल्दै गर्दा काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको विशेष टोलीले दरबारमार्गमा रहेको नबिल बैंकको एटीएम बुथबाट पैसा निकालिरहेको अवस्था झु लियांगांगलाई नियन्त्रणमा लिएपछि थप खुलेको थियो।
झुको साथबाट २० थान नक्कली भिसाकार्ड फेला परेको थियो। उनी हात्तीसारमा रहेको माया मनोहर बुटिकमा बसेको खुलेपछि प्रहरीले बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ मा खानतलासी गरेको थियो। सो क्रममा अन्य चिनियाँ नागरिकले हतार हतार बुटिकको होटल लिफ्ट प्रयोग गरी भाग्न खोजेका थिए।
Five arrested Chinese nationals paraded at a press conference on Sunday. Photo: Bikas Shrestha
सो क्रममा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार योजनाबद्ध रुपमा आएका उनीहरुले १ सय ३२ थान नक्कली भिसाकार्ड प्रयोग गरी विभिन्न बैंकको डाटा ह्याक गरेर एटीएम बुथबाट रकम निकाल्दै आएका थिए।
सर्वसाधारण निक्षेपकर्ता आत्तिनु पर्दैन
यसैबीच नेपाल बैंकर्स संघले सर्वसाधारण निक्षेपकर्ताले आत्तिनु नपर्ने जनाएको छ। संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै ठूलो क्षति नभएको बताउँदै सबै रकम बैंकले व्यहोर्ने बताए। उनले भने, ’धेरै ठूलो क्षति भएको छैन, आत्तिनुपर्दैन। नेपाल प्रहरीको पहलमा सबै समातिएका छन्।’
प्रहरीका अनुसार मालवेयर अट्याक मात्र भिसाकार्डमा इफेक्ट गरेर चारमध्ये एक स्विचबाट रकम निकालिएको छ। त्यो कुन स्विच हो भन्ने अनुसन्धान भइरहेको एसएसपी सुवेदीले बताए। यता बैकर्स संघले बैंकको पहलमा आइटीविद्हरुको एउटा टोली अनुसन्धानमा लागेको छ। संघका अध्यक्ष ढुंगानाले भने, ’यो नयाँ थ्रेट देखियो। हामी साईबर सेक्युरिटीमा थप लगानी गर्नेछौं।’
ह्याकरहरू बैंकहरुभन्दा दुई स्टेप अगाडि रहेको बताउँदै सोही अनुसार सुरक्षा प्रबन्ध गर्ने बताए। कुन स्विचमा अट्याक भएको छ, त्यो फरेन्सिक रिपोर्टपछि थाह हुने प्रहरीले जनाएको छ। ५० बढी एटिएम काउन्टर प्रयोग भएको र १ करोड ६८ लाख ५४ हजार ४२० रकम अहिलेसम्म निकालिएको अहिलेसम्म खुलेको छ।