काठमाडौँ: नेपाली महिलाको महान् पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ ।

बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएका राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गर्नुभयो । पूजा एवं दर्शनपछि उहाँलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिनुभएको थियो ।

मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, मन्दिरमा दर्शनका लागि उपस्थित भक्तजनलगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं दर्शनका लागि प्रवेश गर्दा केही समय लाममा बसेका भक्तजनलाई रोकिएको थियो । उहाँ फर्कनुभएपछि भक्तजनलाई पुनः प्रवेश दिइएको छ । मन्दिर परिसरमा अझै लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन् । तीजका अवसरमा पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनको भीड छ । लाम नसकिएसम्म पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनका लागि खुला राखिने सदस्य सचिव ढकालले जानकारी दिनुभएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version