भोजपुर: षडानन्द नगरपालिकाकाले क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको पत्रानुसार कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए नगरसभाबाटै नष्ट गर्ने निर्णय गरिएको नगरप्रमुख बिरवल राईले जानकारी दिनुभयो ।

विषेश गरे उक्त नगरपालिकामा उत्पादन भएका रुद्राक्षको बजारमा नकारात्मक सन्देश नजाओस् भनेर यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । नगरप्रमुख राईले भन्नुभयो, “हाम्रो क्षेत्रमा उत्पादन भएको रुद्राक्षको ख्याति निकै राम्रो छ, तर पछिल्लो समय यसको उत्पादनमा आएको विकृतिलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेका हौँ ।” यसले कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारका लागि सहयोग पुग्ने राईको भनाइ छ ।

सो क्षेत्रमा अनुमानित वार्षिक रु २० करोड बढीको कारोवार हुने गरेको नगरप्रमुख राईले बताउनुभयो । यस वर्षबाट भने उत्पादन तथा आम्दानीको यकिन तथ्याङ्क राख्ने गरी नगरपालिकाले काम गर्ने उहाँको भनाइ छ । विषादी र क्लिप प्रयोग गरेका रुद्राक्ष बिक्रीमा रोक लगाउन माग गर्दै किसानले पनि निवदेन दिएका नगरपालिकाले जनाएको छ ।

केही मानिसले विषादी भनेर परिभाषित गरे पनि त्यो विषादी नभएर भिटामिन, मलखाद भएको कृषक देवराज पुरीले बताउनुभयो । कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधि (फर्टिलाइजकर)लाई विषादी भनेर व्यापारीले गलत प्रचार गरिरहेका पुरीले दाबी गर्नुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version