कास्की: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पूर्वाधारको अभाव नहुने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२५ हेमजामा विष्णुपादुका क्लबको आयोजनामा विष्णुपादुका खेल मैदानमा आजदेखि शुरु भएको ‘तेस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता’को उद्घाटन कार्यक्रममा उहाँले पोखरामा खेलाइने साग खेलका लागि समयमै पूर्वाधार निर्माण सम्पन्न गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री विश्वकर्माले सागको महिला फुटबल पोखरामा सञ्चालन हुने भएकाले हेमजाको गौरीशङ्कर विद्यालयको खेलमैदान, विष्णुपादुका खेलमैदान र दिव्यज्योति खेलमैदान सहयोगी मैदानका रूपमा स्तरोन्नति गरिएको र साग अगाडि सम्पन्न गरिने उल्लेख गर्नुभयो ।

सो अवसरमा मन्त्री विश्वकर्माले हेमजाले पूर्वराष्ट्रिय खेलाडी एवं हालका अखिल नेपाल फूटबल सङ्घ (एन्फा) उपाध्यक्ष कृष्ण थापालगायतका राष्ट्रिय खेलाडी उत्पादन गरेको चर्चा गर्दै नियमितरूपमा प्रतियोगिता गरेर क्लबले देशको खेल क्षेत्रको विकासमा योगदान गरेको बताउनुभयो ।

गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले खेलकूदका पूर्वाधार निर्माणमा प्रदेश सरकारले योजना बनाएको बताउँदै चालू वर्षमा एक पालिका एक खेलमैदान निर्माण गरिने स्पष्ट पार्नुभयो । यही भदौ २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु एक लाख २१ हजार १११, उपविजेताले रु ७१ हजार १११ तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई समेत रु तीन हजारका दरले पुरस्कृत गरिने क्लबले जनाएको छ । जिल्लास्तरीय सो प्रतियोगितामा ३४ टोलीले सहभागिता जनाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version