मार्तडी : मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन ।

लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् ।

दैनिकरूपमा चल्ने मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगमा स्थानीय पैदलयात्रा गर्न बाध्य भएका छन् ।

सो सडकमा ठाउँ–ठाउँमा वर्षाले गर्दा पहिरो आएर अवरुद्ध बन्दै गएको हो ।

दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउली खोला र अनै खोला, जिल्ली र रजातोलीमा रहेका खहरे खोलामा बाढी आई सडकमा पहिरो आएपछि उक्त क्षेत्रमा चल्ने मालवाहक तथा जीपहरु बन्द भएको जयमालिका यातायात बाजुराका उपाध्यक्ष पृथ्वी रावलले बताए ।

उनले लगातारको वर्षाका कारण जीपहरु उत्तरी भेगमा सञ्चालनमा नआएकाले व्यवसायी मारमा परेको बताए ।

पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको उपाध्यक्ष रावलको भनाइ छ । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् ।

बाटो अप्ठ्यारो भएकाले आवतजावत गर्न निकै कठिन हुने गरेको यात्रुको गुनासो रहेको छ । सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीय वर्षायाममा पैदलयात्रा गर्न छन् ।

जथाभावीरूपमा खनिएका सडकले जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्याङ्कमा रहेको छ ।

सदरमुकाम जोड्ने मुख्य सडकम साँफे–मार्तडी राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ ।

पानी आएका बेलामा ठूलो पहिरो आए मात्र सडक अवरुद्ध हुनसक्ने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए ।

प्राविधिकरूपमा चेकजाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् ।

बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिका जोड्ने मार्तडी–कोल्टी सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा रूपमा प्रथामिकता दिएको छ ।

सडक निर्माणका लागि प्रदेश सरकारले दुई पटक बजेट छुट्याउँदा पनि निर्माण हुन सकेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version