काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ काँग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताए ।

“प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन्, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । जनताका बीचमा जाने र आफ्ना कुरा शालीन ढंगले राखेर हिंसात्मक दमनको पनि शान्तिपूर्ण प्रतिवाद गरेको अनुभव नेकपासँग छ तर काँग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन” प्रधानमन्त्री ओलीले भने, “काँग्रेसले विगतमा सरकार चलाउँदा वामपन्थीलाई अनावश्यक रुपमा थुन्ने र शिक्षक कर्मचारीलाई बर्खास्त गरेको छ । देशै खाने काम आफ्नो हो भन्ठान्ने काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन ।”

उनले लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानवजीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको जानकारी दिए ।

पुष्पलालको नेतृत्वमा विसं २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलो पटक पुष्पलाल स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो । पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सारेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version