काठमाडौँ: आर्थिक वर्ष २०७६/ ७७ को प्रथम महिनामा निर्यात व्यापारमा सुधार देखिएको छ । चालू आवको पहिलो महिनामा ८ अर्ब ८३ करोडको निर्यात भएको छ भने आयात एक खर्ब ६ अर्बको भएको छ ।
गत वर्षको सोहि अवधिको तुलनामा निर्यात व्यापार २७ दशमलब ६८ प्रतिशतले वृद्धि भयको छ भने आयात ११ दशमलब ५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, कुल वस्तु व्यापार घाटा ९७ अर्व ८८ करोड पुगेको छ । व्यापार घाटा चालू आवको प्रथम महिनामा अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा १३ दशमलब ९० प्रतिशतले घटेको छ ।
पहिलो महिना मुलुकले १ सयभन्दा धेरै मुलुकसँग व्यापार गरेको छ। सधंै जस्तै सबैभन्दा धेरै व्यापार भएको छिमेकी देश भारतसँगको व्यापार घाटा उच्च छ। भारतसँग पहिलो महिना ६१ अर्ब ७५ करोड ७८ लाख रुपैयाँको व्यापार घाटा भएको छ।
एक महिनामा भारतबाट ६७ अर्ब ८१ करोड रुपैयाँबराबरको सामान आयात भएको छ भने ६ अर्ब ५ करोड ३० लाख रुपैयाँबराबरको सामान निर्यात भएको छ।
त्यस्तै, चीनसँगको व्यापारमा १८ अर्ब ३३ करोड ३२ लाख रुपैयाँको घाटा भएको छ। चीनबाट १८ अर्ब ५३ करोड १५ लाखको सामान आयात हुँदा नेपालले १९ करोड ८२ लाखबराबरको मात्र सामान पठाउन सकेको छ।
तेस्रो स्थानमा सबैभन्दा धेरै व्यापार भएको मुलुक इन्डोनेसिया छ। जहाँ व्यापार घाटा पनि उच्च छ। एक महिनामा इन्डोनेसियाबाट २ अर्ब १ करोड ४६ लाख रुपैयाँको सामान आयात हँुदा नेपालले ३ लाख ८८ हजारको निर्यात गर्न सकेको छ। उसँगको व्यापार घाटा २ अर्ब १ करोड ४२ लाखभन्दा धेरै छ।
