काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गतेको उपनिर्वाचनलाई मध्येनजर गर्दै दल दर्ताका लागि निर्वाचन आयोगमा विहिबार निवेदन दिएको छ ।
पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दल दर्ताका लागि आज बिहान निर्वाचन आयोगमा निवेदन प्रस्तुत गरिएको छ ।
दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ ।
नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो ।
निर्वाचनपछि संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी पार्टी र विवेकशील साझा दल पनि गठन भएका छन् । यी दलले पनि आगामी निर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्नेछ ।
विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
