काठमाडौँ : आजदेखि दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने नियम कार्यान्वयनमा आएको छ ।

नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ ।

बैंकका अनुसार दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

 

आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन् ।

त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ ।

 

यस्तै खाता भए÷नभएको, खातामा पैसा भए÷नभएको तथा खातावाला व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिनेछ ।

 

यसबाट समयको बचत हुने छ । यस्तो प्रणाली तत्कालका लागि भने ऐच्छिक मात्रै हुनेछ ।

 

सबै ग्राहक अभ्यस्त भइसकेपछि पूर्णरुपमा लागू गर्ने केन्द्रीय बैंकको भनाइ छ ।

 

यस प्रणाली लागू भएपछि चेक क्लियरिङमा कुनै समय लाग्दैन ।

 

सामान्यतया चेक क्लियरिङमा २४ घण्टा समय लाग्दै आएको छ । यस्तो व्यवस्था तत्कालका लागि भने रु दुई लाख माथिको कारोवारमा मात्रै लागू हुनेछ ।

 

त्यसभन्दा तलको परिमाणको रकममा भने चेक आवश्यक पर्नेछ ।

 

आरटिजिएस प्रणालीमा सबै उपभोक्ता अभ्यस्त भइसकेपछि भने जुनुसुकै परिमाणको रकममा समेत चेक काट्नु नपर्ने अवस्थाको अन्त्य हुनेछ ।

 

यो प्रणालीले तत्कालको तत्काल नै रकम जम्मा हुनेछ ।

सो प्रणालीको शुरुआत गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आरटिजिएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको बताए ।

 

 

उनले भने , “यो अन्तर्राष्ट्रिय प्रकारको प्रणाली हो । यसले पारदर्शी कारोवार प्रणालीलाई थप व्यवस्थित गर्छ । हामी बैंक तथा वित्तीय संस्थालाई थप व्यावसायिक र पारदर्शी बनाउन लागिपरेका छौँ ।”

 

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यही भदौ २२ गते नै आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरिसकेको छ ।

 

राष्ट्र बैंकले यही भदौ १९ गते आरटिजिएस नियमावली ल्याएको थियो ।

सोही नियमावलीअनुसार नै भदौ २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

 

केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ ।

 

उनका अनुसार जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै उसै दिन साटिने गरेको छ ।

 

एउटा बैंकको चेक अर्कोमा साट्दा पैसा जम्मा हुन कम्तीमा पनि एक दिन लाग्ने बाध्यता आरटिजिएस प्रणालीले अन्त्य गरिदिनेछ ।

 

कार्यकारी निर्देशक मिश्रले भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकका छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने बताए ।

सामान्यतया एउटा चेक छाप्न ८० पैसासम्म खर्च लाग्ने गरेको छ ।

 

बैंकका हजारौँ ग्राहकलाई अनिवार्य रुपमा नै चेक दिनुपर्ने हुन्छ । त्यस आधारमा चेकका लागि नै ठूलो रकम खर्च हुने गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version