काठमाडौं : दशैंको पूर्वसन्ध्यामा महानगरीय प्रहरीले आउने सातादेखि राजधानी लक्षित विशेष सुरक्षा योजना लागू गर्ने भएको छ ।
चाडपर्व लक्षित आपराधिक गतिविधि हुन नदिन महानगरीय प्रहरी आयुक्तको कार्यालयले आउने असोज ४ गतेदेखि सुरक्षा योजना कार्यान्वयन गर्न लागेको हो ।
महानगरीय पहरी आयुक्तको कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिन्दु धर्मावलम्बीहरुको तीन ठूला चाडपर्वहरु दशैं, तिहार र छठ पर्व सम्मका लागि यो सुरक्षा योजना लागू हुने बताएका छन ।
उनले भने, “असोज ३ गते मनाइने संविधान दिवसको तयारीमा हामी यतिबेला खटिएका छौं, त्यसको भोलीपल्टदेखि नै यो विशेष सुरक्षा योजना अन्तर्गतका कार्यक्रमहरु ल्याइनेछन । ”
हरेक वर्ष नेपाल पहरीले उपत्यकाका लागि ४५ सय भन्दा बढी प्रहरी (सादा पोसाक समेत ) खटाउने गरेको छ । यो वर्ष पनि त्यत्ति नै संख्यामा पहरी राजधानीमा सुरक्षाका लागि खटिनेछन ।
यस विशेष कार्यक्रम अन्तर्गत पैदल, साइकल, मोटरसाइकल, क्युआरटी, सर्च एण्ड कर्डन जस्ता कार्यक्रमहरु लगू हुनेछन ।
राजधानीमा सबैभन्दा व्यस्त हुने बजारहरु कलंकी, थापाथली, बागबजार, भृकुटीमण्डप, गौशाला, चावहिल, कोटेश्वर गोंगबु, बालाजु, टेकु, त्रिपुरेश्वर र महाराजगञ्जमा दशैंको समयमा अधिकांश खसीबोका किनबेच हुने भएकाले पनि यी बजारहरु प्रहरीको विशेष निगरानीमा रहनेछन ।
हरेक वर्ष दशैं मनाउनका लागि करीब साढे ४ लाख मानिसहरुले राजधानी छोड्ने गरेका छन । यस अवसर पारी विभिन्न आपराधिक घटना हुने भएकाले यो समयमा प्रहरीले विशेष सुरक्षा दिँदै आएको छ ।
प्रहरीको रेकर्ड अनुसार गत सालमात्रै दशैं, तिहार र छठका बेला लगभग ४०५ वटा आपराधिक घटना दर्ता भएका छन ।
