काठमाडौं :राष्ट्रिय सूचना आयोगले महामारीको रुप लिइरहेको डेंगु रोगबारे आमनागरिकलाई धेरै भन्दा धेरै जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

 

आयोगले आज सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डेंगु रोगबाट बच्ने उपायबारे नागरिकलाई जानकार बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो।

 

डेंगू रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिइन्।

 

आयोगले हिजो आईतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि सो रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो।

 

आयोगको आदेशमा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरुबाट पनि सो रोगबाट बच्ने उपायसहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ।

 

आयोगले सो रोगबाट बच्ने उपायबारे आम सञ्चार माध्यामबाट पनि सूचना प्रवाह गर्न सरकारलाई सचेत गराएको छ।

 

सूचनाको अभावमा सो रोगबाट मानिसहरुको ज्यान जाने, सहि सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आदेश दिनु परेको प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जानकारी दिए।

 

मुलुकमा ८ हजार भन्दा बढी डेंगु रोगको विरामी भेटिएको छ भने ७० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ।

६ जनाको ज्यान लिइसकेको सो रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दावी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version