काठमाडौँ: धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा अगाडि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अङ्कले वृद्धि भई २५५.७० मा पुगेको छ ।

आज कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ समूहकै शेयर आज उकालो लागेको छ । बैंकिङ १८.७, होटल ६९.४८, विकास बैंक १०.२६, जलविद्युत् ११.४९, वित्त २.२३, निर्जीवन बीमा १४३.०८, उत्पादन ७३.८४, अन्य १२.५९, लघुवित्त ३२.५१, जीवन बीमा १७१.९, सामूहिक लगानी कोष ०.०१ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड २४ लाख २७ हजार ७९३ मा कारोवार भयो । त्यस्तै सिद्धार्थ बैंकको शेयर रु चार करोड ४८ लाख २९ हजार ५६९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६० लाख २९ हजार ६९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड १८ लाख ३४ हजार ८१५ र सनराइज बैंक लिमिटेडको शेयर रु एक करोड ५७ लाख ७९ हजार ६३८ मा खरीद बिक्री भए ।

समग्र परिसूचक बढे पनि कर्णाली विकास बैंकका शेयरधनीले ४.५४ प्रतिशतले गुमाए । त्यस्तै नाग्दी ग्रुप पावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.५३, एक्सेल डेभलपमेन्ट बैंक ३.३० र नविल इक्विटी फण्डका शेयरधनीले २.८० प्रतिशतका दरले गुमाए ।

सिन्धु विकास बैङ्कका शेयरधनीले १० प्रतिशतले कमाउँदा समता मइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.८८, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ९.०४ र सूर्यलाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.८६ प्रतिशतले कमाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version