काठमाडौं : सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो।
‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’
लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै भने, ‘उडाउनुपथ्र्यो नारिता, उडाउन खोजिँदैछ ओसाका।’
नारिता राजधानी टोकियोसँगैको विमानस्थल हो। त्यसभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु तुलनात्मक निकै कम हुन्छन्। यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन।
यात्रु नै छैननजापान उडानको पहिलो दिन अगस्ट २९ मा अहिलेसम्मका धेरै १ सय ४९ यात्रु थिए। तर, टिकट काटेका ८८ मात्र। बाँकी ६१ जना सित्तैंमा पाहुना बनाएर लगिएका। उनीहरूको टिकट र जापानको सम्पूर्ण खर्च निगमले व्यहोरेको थियो।
दुई दिनपछि १८ यात्रु लिएर गएको विमानले सित्तैंमा लगेको टोलीका सबैजसो ओसा¥यो। ६० यात्रु ल्याइएकामा टिकट काटेर आउने अति कम थिए। अहिलेसम्मको अवस्था हेर्दा काठमाडौं–ओसाकाभन्दा उताबाट आउनेको संख्या तुलनात्मक बढी छ। सेप्टेम्बर ३ मा २४ यात्रु लिएर गएको वाइडबढीले फर्कंदा भाग्यवश ६९ यात्रु पायो।
यताबाट जाँदा भएका ८ उडानमा टिकट काटेका यात्रु सबैभन्दा धेरै सेप्टेम्बर १४ मा थिए– ३४ जना। उताबाट आउँदा सबैभन्दा धेरै सेप्टेम्बर ७ मा ८८ जना पुगेका छन्। यो खबर अन्नपुर्ण पोस्टमा रहेको छ ।
