काठमाडौं: कृषि विकास बैंकको बैङ्किङ्ग प्रणालीमा अनधिकृत प्रवेश गरेर लुटिएको झन्डै एक करोड ५६ लाख रुपैयाँ सुरक्षित रहेको खुलेको छ।

 

नेपाल प्रहरीले यस घटनामा जोडिएका हालसम्म ११ जनालाई पक्राउ गरिसकिएकोले लुटिएको रकम पनि सुरक्षित नै रहेको, अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले पहिलोक्लिकलाई बताए।

 

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर लगायत छन् ।

 

कृषि विकास बैंकको लाहान शाखाबाट बैंकिङ प्रणालीमा प्रवेश गरेको अज्ञात व्यक्तिबाट परिचालित समूहले स्टेटमेन्टभित्रै आक्रमण गरेर उक्त रकम ट्रान्सफर गराएर निकाल्न सफल भएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

 

त्यसैले नेपाल राष्ट्र बैंकका अधिकारीले यो घटनामा अघिल्लो प्रकरणमा झैँ ह्याकरको समूह मात्र नभई, बैंककै कर्मचारीको पनि संलग्नता हुन सक्ने आशंका गरेका छन् ।

 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने बैंकका कर्मचारीको संलग्नता हालसम्म नदेखिएको बताएका छन् । नेपाल प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘हामीले ११ जनालाई नियन्त्रणमा लिएका छौं र ती सबै नेपाली नागरिक हुन् ।’

 

चिनियाँ नागरिकको समूहले नेपाली बैंकको एटीएम ह्याक गरेर करिब दुई करोड रुपैयाँ लुटेको एक महिना २६ दिन मात्रै भएको छ । तर अहिले फेरी उस्तै प्रकृतिको घटना दोहोरिएको छ । यसले नेपाली बैंकिङ क्षेत्रको फितलो साइबर सुरक्षा प्रणालीलाई उदांगो पारेको छ ।

 

काठमाडौं प्रहरी परिसर, टेकुले १६ भदौमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर चोरिएको रकम बरामद गरे पनि बैंकहरुले साइबर सुरक्षामा गम्भीरता नदेखाउँदा फेरि कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ लुटिएको हो ।

 

रकम निकाल्न खाज्ने सबै पक्राउ परिसकेकाले लुटिएको भनिएको रकम पनि सुरक्षित रहेको प्रहरी दाबी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version