काठमाडौँ: दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरिसकेको छ ।
बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
राष्ट्र बैंकले गत वर्षजस्तै कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट नोट वितरण गर्नेछ ।
कृषि विकास बैंकले नोट वितरणको तयारी पुरा गरिसकेको जनाएको छ । कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र रत्नपार्क शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सटही गर्ने बैंकले जनाएको छ ।
सर्वसाधारणले ५, १०, २० र ५० दरका एक/ एक बन्डल (बिटा) गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म नोट सटही सुविधा पाउने छन् ।
बैंकले सर्वाधरणलाई आफुलाई पाएक पर्ने साखामा नयाँ नोट सटही गर्ने अनुरोध गरेको छ ।
त्यसैगरी, नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट सटही सेवा प्रदान गर्ने जनाएको छ ।
