काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन आइतबार घरघरमा जमरा राखिँदै छ। दसैंको पहिलो दिन ‘शैलपुत्री’ नामकी दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ।

दसैंको पहिलो दिन नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ। माटाको घट (कलश) स्थापना गरी गोबर टाँसेर जौ रोप्नुलाई जमरा राख्ने भनिन्छ। पाणिनी संस्कृत विद्यालयका पण्डित राजेन्द्र आचार्य जौको अंकुर दुर्गाभवानीको प्रिय वस्तु भएकाले घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन दुर्गालाई चढाएर टीकासँगै ग्रहण गर्ने चलन रहेको बताउँछन्।

यस दिन पवित्र ठाउँ पूजाकोठा वा देवीघरमा आसन ओच्छ्याई दियो, कलश र गणेशको पूजा गर्ने शास्त्रीय पद्धति रहेको छ। त्यसपछि तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गरिन्छ।

यस दिन ‘शैलपुत्री’ स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। पर्वतराज हिमालयकी पुत्रीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराईको भनाइ छ। उनका अनुसार शैलपुत्रीको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गर्ने परम्परा छ। घटस्थापनाको शुभ साइत १० बजेर ३५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले बताएको छ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ। विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version