भक्तपुर:  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको छ भन्नुभयो ।

काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाब दिनुभयो ।

वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उहाँको गुनासो थियो ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्दै जनसमुदायमा घुलमिल गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा काङ्ग्रेस नेता कञ्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, क्षेत्र नं १ का पार्टी सभापति जीवन खत्री, सचिव उद्धव खड्कालगायतले स्व कुइँकेलले पार्टी र देशका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै काङ्ग्रेसले गुटउपगुट त्यागेर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version