काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् ।

गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने सो परियोजना निर्माणमा कुनै पनि विलम्ब गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आयोजना सम्पन्न गर्न स्थानीयको सहयोग र सद्भाव रहँदा पनि निर्माणले गति लिन नसक्नु दुःखद् भएको बताउनुभयो ।

“आयोजनालाई अगाडि बढाउन स्थानीयको अत्यन्त ठूलो सहयोग रहेको छ, स्थानीयले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ”, उहाँले भन्नुभयो, “दुर्भाग्यवश यति हुँदा पनि निर्माणले गति लिन सकेको छैन ।”

सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरिराज अधिकारीले बूढीगण्डकी आयोजना निर्माणमा अलमल हुँदा समग्र जिल्लाको विकास नै पछि परेको बताउनुभयो । “यति ठूलो आयोजना अलपत्र छ, बूढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो”, उहाँले भन्नुभयो ।

सांसद चूडामणि खड्काले जिल्लाको विकास निर्माणमा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कमला पन्तले जिल्लाको विकास निर्माणमा पक्षविपक्ष नभनी लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा नेता लेखनाथ न्यौपाने, पत्रकार खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याललगायतले गोरखाली पत्रकारले जिल्लाको विकास निर्माणका साथै विभिन्न मुद्दामा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version