काठमाडौं: प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् ।

 

उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।

 

नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’

 

शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताइन् । ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले भनिन्, ‘मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’

 

उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको प्रष्ट पारिन् । ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन्’, शाहीले भनिन्, ‘महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो ।’

 

शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन् । ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु’, उनले भनिन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version