काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्च बापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।

विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।

सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ ।

विशेष सुरक्षा कार्ययोजना र कार्यक्रम व्यवस्थापनअन्तर्गत तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई भत्ता दिने प्रस्ताव गरी अर्थ मन्त्रालयलाई पत्र पठाइएको गृह मन्त्रालयका कर्मचारीले जानकारी दिए ।

‘राष्ट्रपति सीको राजकीय भ्रमण सुरक्षा कार्ययोजनाअनुसार खटिने सुरक्षाकर्मी र कर्मचारीलाई दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्र पठाएका छौँ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘यससम्बन्धमा केही दिनभित्रै निर्णय हुन्छ ।’

सी नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भइसकेका छन् । उनको सम्पूर्ण सुरक्षा व्यवस्थापनको नेतृत्व सेनाले लिएको थियो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सीको सुरक्षामा १५ हजारभन्दा बढी जनशक्ति खटिएको जानकारी दिए ।

सीको सुरक्षाका लागि एक महिनाअघिबाटै कार्ययोजना तय भए पनि सरकारले अन्तिम समय मात्रै त्यसको जानकारी दिएको थियो । असोज ५ मा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि सुरक्षा कार्ययोजना बनाइएको थियो । यो समाचार कान्तिपुरबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version