काठमाडौं : जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानको थालनी भएको छ ।
अनुसन्धानका क्रममा आज महराको डिएनए परीक्षणको तयारी थालिएको छ ।
नर्भिक अस्पतालमा भर्नारत महराको अभियोग पुष्टयाँइका लागि घटनास्थलमा भेटिएका फुटेको चस्मा तथा जुत्ताको जिब्री लगायतका सामग्रीको डिएनए टेष्ट हुन लागेको स्रोतले बताएको छ ।
दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् ।
उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
प्रहरीले आज मंगलबार उनलाई म्याद थपका लागि अदालतमा लाने तयारी समेत गरेको छ ।
डिएनए टेष्टका लागि प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री संकलन गरिसकेको छ ।
चस्मा वा जुत्ताको जिब्रीमा अभियुक्तको पसिना हुन सक्ने भएकाले डीएनए परीक्षण गरेर अभियोगबारे सत्यतथ्य जाँच्न लागिएको स्रोतले बताएको छ ।
