काठमाडौं : जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश दीपककुमार दाहालको इजलासले महरालाई पक्राउ परेको मितिले १३ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो।
असोज १९ गते पक्राउ परेका महरा अदालतको आदेशअनुसार अब तीन दिन प्रहरी हिरासतमा बस्नुपर्नेछ।
महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
अब तीन दिन (पहिलेकोसहित १३ दिन) को म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्न सक्नेछ। दोस्रो, अनुसन्धान सकेर प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाउन सक्नेछ। तेस्रो, सरकारी वकिलले महराविरुद्ध अभियोगपत्र दायर गर्न सक्नेछ।
