काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनु हुने कार्यक्रम छ। उनले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्नेछन्।

खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम छ।

बैठकमा सहभागी हुने सिलसिलामा संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनेछन्। साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुनेछन्। नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्नेछन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षता समेत अर्थमन्त्री डा. खतिवडाले गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा अर्थमन्त्री डा. खतिवडाले एशियाली विकास बैंकका उपाध्यक्षसँग समेत आपसी सहयोगका विषयमा छलफल गर्नेछन्।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपाल समेत सहभागी हुनेछन्। अर्थमन्त्री डा. खतिवडा कार्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version