काठमाडौँ: परीक्षणको नाममा संकलन गरिएको सुन नै ‘गायव’ भएको विषय बाहिर आएपछि छानबिन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन समिति बनाएको छ ।

विभागका कानून उपसचिव भगवान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

कमिटीमा अधिकृत दीपक पोखरेल, निराजकुमार खत्रीसहित गुणस्तर विभागका प्रनिनिधिसमेत रहेको महानिर्देशक गौचनले बताए ।
गायब गरिएको भनिएको सुनको अवस्थाबारे अध्ययन गर्न समितिलाई जिम्मेवारी तोकिएको छ ।

एक महिनाको समयावधि पाएको समितिले पूर्ववत सबै फाइलको खोजी गर्ने र आवश्यक कानुनी राय लिएर थप अगाडि बढ्ने महानिर्देशक गौचनले बताए ।

सुन र चाँदीमा मिसावट हुने गरेको विषयमा २०६९ सालदेखि अनुगमन गरेर परीक्षण गर्न भन्दै तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले देशभरका सुन पसलबाट नमूना सुन संकलन गरेको थियो । सुन चाँदी व्यवसायीहरुका अनुसार उक्त सुन एक किलो भन्दा बढी मात्रामा थियो ।

त्यसयता उपत्यकामा मात्रै करिब ४० सहित देशभर एक सय पसलबाट नमुना संकलन भएको सुन चाँदी व्यवसायीको भनाई छ । कानुनतः परिक्षणका लागि लगिएको सुन फिर्ता गरिनु पर्दथ्यो । तर, गरिएको छैन ।

सरकारी अनुगमन टोलीले एउटै पसलबाट डेढदेखि २ तोलासम्म सुनका गहना संकलन गरेको संघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version