काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।
शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि कात्तिक २१ गते मनोनयन दर्ताको समय तोकिएको छ।
कार्यतालिकाअनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपराह्न पाँच बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ।
त्यस्तै, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
