काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट रौतहट -२ मा विजयी सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने बताएका छन्।

भक्तपुरको बोडेमा शुक्रबार भएको पार्टीको कार्यक्रममा सभापति देउवाले १२ वर्ष पूरानो घटनामा आलमलाई पक्राउ गरी सरकारले कांग्रेसविरूद्ध षड्यन्त्र गरेको बताएपछि उनको आलोचना भएको थियो।

शनिबार विज्ञप्ति निकालेर देउवाले दिएको प्रष्टिकरणमा भनिएको छ, ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै। १२ वर्ष पूरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’

उनले आफ्ना धारणाले उत्पन्न गरेको अन्यौल र अष्प्रष्टता चिर्न विज्ञप्ति निकालेको उल्लेख गर्दै थपेका छन्, ‘कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरूरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन।’

देउवाले आलममाथिको मुद्दामा दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने पनि बताएका छन्। ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो स्पष्ट मान्यता म सार्वजनिक रूपले प्रष्टाउन चाहन्छु,’ सभापति देउवाले भनेका छन्।

आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई ज्युँदै इँटाभट्टामा पोलेर मारेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिराखेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version