काठमाडौ: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंक(एडिबी)का नेपालका देशीय निर्देशक मुखतोर खामुडखानोभबीच उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको छ ।
सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पुनले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री पुनले तनहु जलविद्युत परियोजना र भुमिगत केवलिङ परियोजना सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए ।
भेटमा उनले दुधकोशी जलविद्युत आयोजना छिट्टै अगाडी बढाउने गरी काम सुरु भइसकेको जानकारी समेत दिए । दुधकोशी परियोजनामा टिबीएमको प्रयोग गरेर भएपनि काम दु्रत गतिमा अघि बढाउने मन्त्रालयको सोच रहेको मन्त्री पुनको भनाई थियो ।
मन्त्री पुनले उर्जा र जलस्रोत क्षेत्रको समग्र विकासको लागी आफुले मार्गचित्र सार्वजनिक गरेको भन्दै आगामी दिनमा जग्गा,वन र वातावरणको समस्या हल हुनुका साथै परियोजना कार्यान्वयनमा कुनै समस्या नहुने बताए ।
भेटमा एडिबीका आवासीय प्रतिनिधी खामुडखानाले एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगतीको बारेमा जानकारी मन्त्री पुनलाई गराए ।
उनले उर्जा क्षेत्रमा थप सहयोग गर्न एडिबी तयार रहेको धारणा राखेका छन् ।
‘मन्त्रालय र हाम्रोबीचमा सम्बन्ध राम्रो छ, उर्जा क्षेत्र हाम्रो पनि प्राथमकितामा भएकाले आगामी दिनमा समेत हाम्रो सहकार्य अझ सुमधुर हुन्छ ।’ आवासीय प्रतिनिधी खामुडखानाले भने ।
उनले वाग्मती सिंचाई परियोजनामा एडिबीले ५० मिलियन सहयोग गरिसकेको जानकारी दिंदै बाग्मती ड्याम निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
