काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड अस्वाभाविक रूपमा बढेको छ। सोमबार आवेदनको संख्या झन्डै ३ हजार पुगेको छ। यसअघि दैनिक बढीमा ५ सय आवेदन पर्दै आएको थियो। दसैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्यधिक वृद्धि भएको हो। त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको छ।

पासपोर्ट बनाउन आउने अधिकांशको धारणा छ, ‘अमेरिकी डीभीले गर्दा दुःख पाइयो। पासपोर्ट नम्बर नभए डीभीको फारम स्वीकार हुँदैन रहेछ।’ असोज १५ (अक्टोबर २)मा खुलेको डीभी २०२१ कार्यक्रम कात्तिक १९ (नोभेम्बर ५)मा सकिन्छ। अमेरिकाले यसपटक डीभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरेको छ।

विभागमा गत शुक्रबारदेखि भीड बढेको हो। त्यस दिन १ हजार ८ सय ५५ आवेदन परेकामा आइतबार २ हजार ६ सय ६२ पुग्यो। सोमबार साँझसम्म निवेदन बुझ्ने काम भइरहेको थियो। त्यो बेलासम्म २ हजार ७ सय आवेदन परेको विभागले जनाएको छ। यो भीड २०१० को डिसेम्बर २६ पछिको सर्वाधिक हो। त्यति बेला हस्तलिखित राहदानी विस्थापन गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सुरु गरिएको थियो। त्यति बेला ३ हजार ४ सयसम्म आवेदन परेको थियो।

‘डीभी पर्ने÷नपर्ने थाहा छैन, चिट्ठाकै लागि १० हजार तिर्न बाध्य भयौं’, गोरखाका शिव पन्तले भने, ‘कतै विदेश जानुपरे पासपोर्ट आवश्यक परिहाल्छ। अहिले नै बनाउनुको उद्देश्य डीभी नै हो।’

केही वर्षयता दैनिक ५ सयजति मात्र आवेदन पथ्र्योे। विभागले सोही आधारमा कर्मचारी व्यवस्थापन गर्दै आएको थियो। ‘मलेसियामा रोजगारी खुलेको, दसैंको लामो बिदापछि कार्यालय खुलेको एवं अमेरिकी डीभी भर्न पासपोर्ट नम्बर अनिवार्य गरिका कारण भीड बढेको निष्कर्ष हाम्रो छ’, विभागका महानिर्देशक रामकाजी खड्काले भने।

विभागले लाइभ इनरोलमेन्ट प्रणाली (व्यक्ति आफैं उपस्थित भएर विवरण दिने)बाट यति धेरै संख्यालाई सम्बोधन गरेको पहिलो पटक हो। दुई दिनदेखि राजस्व प्रणालीको सफ्टवेयर पनि बिग्रेका कारण कम्प्युटर बिलिङ हुन सकेको छैन। मुलुकभर राजस्व हातले लेखेर लिनुपरेको छ। कर्मचारी साँझ अबेरसम्म बसेर पासपोर्ट तयार पारिरहेका छन्।

राजस्व १५ हजार तिरे आवेदन दिएकै दिन, १२ हजार तिरे भोलिपल्ट र १० हजार भए पर्सिपल्ट पासपोर्ट उपलब्ध गराइन्छ। जिल्लामा ५ हजार रुपैयाँ लिएर २० दिनभित्र पासपोर्ट उपलब्ध गराइन्छ। विभागले जिल्ला र विदेशस्थित नियोगबाट आएका आवेदनअनुसार पासपोर्ट बनाएर पठाउने गरेको छ। विभागका लागि मन्त्रालयले एउटा गाडी पनि थप गरेको छ। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version