काठमाडौँ: मित्रराष्ट्र चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय किर्तिमान कायम गरेकी छिन्
चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी खत्रीले मंगलबार भएको Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको 400 मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्न सफल भएकी हुन् ।
उनले उक्त दुरी 59.57 सकेण्डमा पुरा गर्दै यस अघिको 59.90 सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् । खत्रीले 9 वर्ष अगाडी सन् 2010 प्रमिला रिजालले राखेको रेकर्ड तोडेकी हुन्। उक्त दौडमा 21 देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।
यसैगरी आजै संचालन भएको महिलातर्फको 100 मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले 12.66 सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेकी छिन् । यस दौडमा 26 देशका खेलाडीहरुले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा आजै दौडसहित विच भलिबल, आर्चरी र महिला वक्सिङ्ग गरी चार खेल सम्पन्न भएको छ ।
