काठमाडौँ : युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को इतिहास रचेका छन।
‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा हिजो आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी आकिही ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन ।
युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए ।
अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए ।
जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुन ।
अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन ।
आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन ।
उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए ।
यसैगरी एक खेल बराबरीमा रोकिएको उनका परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिए ।
सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता रहेको थियो ।
