काठमाडौँ: बम विस्फोटनमा घाइते भएका व्यक्तिलाई इटा भठ्ठामा जिउँदै जलाएर मारेको अभियोगमा जन्मकैदको मागसहित पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमलगायत ११ जनाविरुद्ध सोमबार रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
पूर्वमन्त्री आलमसहितका अभियुक्तउपर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोट पदार्थ ऐनअनुसारको कसुर अपराध गरेको अभियोगमा तीन छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको हो । नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा दर्ता गराउनुभएको हो ।
सोमबार मुद्दा दर्तासँगै आलमलाई अदालतमा प्रस्तुत गरिए पनि समय अभावले गर्दा बयान हुन सकेन । आलमलाई मङगलबार बयानका लागि उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ ।
कुल ३९ पृष्ठको अभियोगपत्रमा आलमसँगै भाइ मोहम्मद महताव आलम, शेख भदई, मोहम्मद मोबिन आलम, शेख सेराज, बद्रि सहनी, शेख फजले हक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशङकर साह र मुक्ति साहलाई अभियुक्त बनाइएको छ ।
पूर्वमन्त्री आलमबाहेक सबै १० जना फरार छन् । फरार रहेका व्यक्तिहरुको खोजतलास भइरहेको र त्यस घटनामा संलग्न अन्य अभियुक्त तथा मतियार खुलेमा पछि अनुसन्धान अभियोजन गरिनेसमेत अभियोगपत्रमा उल्लेख छ ।
घाइते व्यक्तिलाई इटा भठ्ठामा जिउँदै जलाएर मारेको अभियोगमा कर्तव्य ज्यानतर्फ जन्मकैद, बम विस्फोटनमा परी घाइते भएर उम्कन सफल दुई व्यक्तिलाई मार्ने प्रयास गरिएकोमा ज्यानमार्ने उद्योगतर्फ १० वर्ष र विस्फोटक पदार्थ प्रयोग गरेकाले विस्फोटक पदार्थ ऐनअन्तर्गत थप दुई वर्ष कैद सजायको मागदावी गरिएको छ ।
‘एउटै वारदातमा एकभन्दा बढी कसुर अपराध भएको हुँदा छुट्टाछुट्टै कसुर अपराध कायम गरी सजायसमेत गरी पीडित घाइते तथा मृतकका हकवालालाई प्रतिवादीहरुबाट उचित मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ’, अभियोगपत्रमा उल्लेख छ ।
रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आलमसहितका अभियुक्तले घाइते व्यक्तिलाई जिउँदै जलाएर मारेको संकलित तथ्य प्रमाणबाट खुल्नआएकाले प्रहरी अनुसन्धान प्रतिवेदनबमोजिम साविक मुलुकी ऐनको ज्यानसम्बन्धी महल र प्रचलित मुलुकी अपराध संहिताअनुसार हदैसम्मको कैद सजायको मागदावीसहित मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता कटुवालले बताउनुभयो ।
३९ पृष्ठको अभियोगपत्र तथा प्राप्त दशी,कागजात, तथ्य प्रमाणसहित करिब आठसय पृष्ठ लामो मिसिल अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।
संविधानसभाको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते पूर्वमन्त्री आलमको गाउँ राजपुर फरहदवास्थित शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोटन भएको थियो । संविधानसभा निर्वाचनलाई प्रभावित तुल्याउन बम बनाउँदै गर्दा विस्फोटन भएपछि त्यसमा संलग्न व्यक्ति सख्त घाइते भएका थिए ।
सख्त घाइते भएका व्यक्तिलाई उपचारमा लैजानुको सट्टा घटना सार्वजनिक हुने त्रासले तत्कालीन प्रहरी प्रशासनकै सहयोगमा नजिकैको इटाभठ्ठामा लगेर जिउँदै जलाइएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
त्यस घटनामा खख्त घाइते भएका सरुअठाका २४ वर्षीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई इटाभठ्ठामा जलाइएको आरोप छ । घाइते दर्जनभन्दा बढी व्यक्तिलाई जिउँदै जलाएर मारेको भनिए पनि अन्य व्यक्तिको नाम भने खुल्न सकेको छैन । ती सीमावर्ती भारतीय व्यक्ति हुनसक्ने बताइएको छ ।
घटनाका विषयमा मृतक परिवारले त्यही बेला जाहेरी दरखास्त दिएका थिए । तर तत्कालीन प्रहरी अधिकारले दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी पठाइएको थियो ।
त्यस जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरे पनि तत्कालीन जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले २०६५ असार ३०गते सदर गरेपछि मुद्दा चलेन । तर पीडित परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेपछि २०६९ जेठ १६ गते परमादेश जारी भएको थियो ।
तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले अनुसन्धान गरी कारबाही गर्न दिएको परमादेश लामो समयसम्म कार्यान्वयन नगरेपछि पुनः अवेहलना मुद्दा दायर गरिएको थियो । त्यही परमादेश कार्यान्वयन गर्न फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक ताकेता गरेपछि यही २०७६ असोज २६गते रौतहटको पिप्रा भगवानपुरस्थित इद्रिस गेट नजिकबाट आलमलाई पक्राउ गरिएको थियो ।
अभियोगपत्रमा तत्कालीन प्रहरी नेतृत्वमा रहेका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, प्रहरी नायव निरीक्षक किरण गौतम, घटनास्थलस्थित राजपुर फरहदवा इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी उपरीक्षक) इन्द्र सुवेदी लगायतका दर्जनबढी व्यक्तिहरुले गरिदिएको कागजलाई प्रमाणको रुपमा प्रस्तुत गरिएको छ ।
यसैगरी घटनामा घाइते व्यक्तिलाई इटाभठ्ठामा ओसार्न प्रयोग भएको ट्याक्टर, मृतकका लूगा र घटनाका केही प्रत्यक्षदर्शीलाई समेत दशीप्रमाण र साक्षीको रुपमा प्रस्तुत गरिएको छ ।
प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले अभियोगपत्रसँगै प्रस्तुत प्रमाण कागजात घटना पुष्टि गर्न पर्याप्त भएको बताउनुभयो । घटना १२ वर्षअघिको भए पनि गहनतम अनुसन्धान र संकलन गरिएका प्रमाणकागजात तथा बरामद विभिन्न तथ्यबाट घटना पुष्टि हुने पर्याप्त आधार रहेको उहाँले दावी गर्नुभयो ।
अभियोगपत्र दर्ता भएपछि आलमलाई मङगलबार पुनः अदालतमा उपस्थित गराइनेछ । अदालतमा आलमले बयान दिनुहुनेछ । आलमको बयानपछि थुनछेक प्रयोजनका लागि अदालतमा बहस हुनेछ । दुवै पक्षको बहसपछि आलमलाई मुद्दा पुर्पक्षको सिलसिलामा थुनामा राख्ने वा धरौटीमा राख्ने वा साधारण तारेखमा छाडने आदेश अदालतले गर्नेछ ।
प्रत्येक दिन पेशीमा चढेका मुद्दा सोही दिन गोलाप्रथाद्वारा भागवण्डा गर्ने न्यायिक प्रचलन छ । यो मुद्दा कुन इजलासमा प्रस्तुत हुन्छ त्यही दिनमात्रै जानकारी हुने रौतहट जिल्ला अदालतले जनाएको छ ।
