काठमाडौँ : छठ पर्वमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी क्षेत्रमा फालिएको फोहर तीन दिनको निरन्तर प्रयासपछि सफाइ गरिएको छ ।

 

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वका बेला राजधानीको गुह्येश्वरी क्षेत्रमा मात्र लाखौँ भक्तजन आउने गरेका छन् ।

 

यसवर्ष कात्तिक १४ देखि १७ गतेसम्म मनाइएको छठमा धुपका बट्टा, प्लाष्टिक, दूधका प्लाष्टिक, माटोका दियो, फलफूल र अन्य वनस्पतिजन्य वस्तु ज्याँदा भएको वाग्मती सुन्दरता सरोकारमञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

 

फालिएका सबै वस्तुलाई वर्गिकृत गर्दै जाँदा १० प्रतिशत बिक्री हुने फोहर फेला परेको थियो ।

 

बाँकी फलफूल, वनस्पतिजन्य, परालजस्ता चीजबीज गाईबाछाका आहारका रुपमा प्रयोग गरिएको उनले बताए ।

माटोले बनेका दियो प्याला र हात्तीका आकृति अभियानकर्मीले व्यवस्थापन गरेका थिए ।

८५ प्रतिशत फोहरमध्ये झण्डै ७० प्रतिशत कुहिने वस्तुलाई नदी किनारमा नै खाडल खनेर पुरिएको थियो ।

१५ प्रतिशत फोहर अन्तिम विसर्जनका लागि तयार गरिएको छ । सानो प्रयासले ठुलो फोहरको घेराबाट गुह्येश्वरी क्षेत्रलाई मुक्त गर्न सकिएको मञ्चले जनाएको छ ।

मञ्चले यसवर्ष कुशेऔँसीका अवसरमा गोकर्णेश्वर मन्दिर परिसरमा जम्मा भएको फोहरलाई एक हप्ता निरन्तर सफाइ गरी वर्गीकरणसहित व्यवस्थित गरेको थियो ।

भाद्र शुक्ल अष्टमीमा कागेश्वरी मेलाबाट उत्सर्जित फोहरलाई दुई दिनको प्रयासमा व्यवस्थित गरिएको थियो ।

यसैगरी भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीमा गोठाटारस्थित नवतन धामको फोहर एक दिनमै वर्गिकरणसहित व्यवस्थित गरिएको थियो ।

गुह्येश्वरी क्षेत्रभन्दा माथिको वाग्मती सफाइले ३०० हप्ता पार गरिसकेको छ । मञ्चको नेतृत्वमा मुहानदेखिकै वाग्मती सफाइ गर्ने अभियान शुरु भएको थियो ।

माथिल्लो क्षेत्रको वाग्मती सफाइ गर्दै आएको मञ्चले विसं २०७० देखि यस क्षेत्रका सांस्कृतिक सम्पदा वरपरको नदी किनारमा सफाइ गर्दै आएको छ ।

यी सम्पदामा लाग्ने विशेष मेलापछि जम्मा हुने फोहर हप्तादिनसम्म सफाइ गरेर पनि अभियानकर्मीले व्यवस्थापन गर्दै आएका छन् ।

यस क्षेत्रका स्थानीय तहले भने सफाइमा ध्यान दिन नसकेको स्थानीयवासीको गुनासो छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version