काठमाडौं: राष्ट्रिय गौरवको निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) सडक निर्माणका क्रममा परामर्शदाता छनोट कार्यको ‘मूल्यांकन मापदण्ड’ समयअघि नै सार्वजनिक भएको पाइएको छ ।

 

आयोजनाको सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट गर्नुअघि नै मापदण्डको प्रारम्भिक मस्यौदा नै बाहिरिएको पुष्टि भएको हो ।

 

यसबारे रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ को गठन भएको थियो । जसले एक महिना लामो अनुसन्धान सकेर मापदण्ड चुहावट भएको निश्कर्ष निकालेको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यद्यपि, यो काममा को संलग्न थिए भन्ने बोर्डले खुलाउन नसकेको सैनिक स्रोतले बतायो ।

त्यसैले द्रूतमार्ग सडक निर्माण आयोजनाका पूर्वप्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड, सहायक रथी शरदलाल श्रेष्ठसहित प्राविधिक मूल्यांकन बोर्डका सम्पूर्ण सदस्यलाई सचेत गराइएको छ ।

 

छानविन समितिको सिफारिसमा सैनिक सचिव विभागले उनीहरुलाई सचेत गराएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आयोजनामा विज्ञको रुपमा कार्यरत गैरसैनिक व्यक्तिलाई पनि आयोजना प्रमुखबाट सजग गराइएको बताए ।

 

यस्तो छ सेनाको बिज्ञप्ति

काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको सुपरिवेक्षण कार्यको लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनौट गर्ने कार्यमा Evaluation Criteria को ड्राफ्ट चुहावट भएको सम्बन्धमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको सिफारिसमा काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाका तत्कालिन आयोजना प्रमुखसहित प्राविधिक मुल्यांकन बोर्डका सदस्यहरुलाई श्री सैनिक सचिव विभागबाट सचेत गराईएको छ ।

२. काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको सुपरिवेक्षण कार्यको लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनौट गर्ने कार्यमा Evaluation Criteria को ड्राफ्ट चुहावट भएको उक्त बोर्डबाट ठहर भएपश्चात् काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनामा कार्यरत तत्कालिन आयोजना प्रमुखसहित प्राविधिक मुल्यांकन बोर्डका सदस्यहरुलाई श्री सैनिक सचिव विभागबाट सचेत गराईएको हो । साथै, उक्त आयोजनामा विज्ञको रुपमा कार्यरत गैर-सैनिक ब्यक्तिहरुलाई समेत आयोजना प्रमुखबाट सजग गराईएको छ ।

३. नेपाल सरकारको निर्देशन बमोजिम राष्ट्रिय विकासका विभिन्न निर्माण कार्यहरुमा नेपाली सेना प्रत्यक्ष रुपमा परिचालन भइरहेको अवस्थामा राष्ट्रिय गौरवको यस आयोजना नेपाली सेनामाथिको राष्ट्र र नागरिकको विश्वास गांसिएको तथ्यलाई मनन् गर्दै नेपाली सेना निर्देशित समय सीमाभित्र आर्थिक अनुशासनमा रही गुणस्तरीय, पूर्ण पारदर्शिता तथा मितब्ययी ढंगबाट कार्य सम्पन्न गर्न कटिबद्ध रहेको विश्वास दिलाउन चाहन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version