काठमाडौँ: नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अकोतर्फ वित्तीय प्रविधिको प्रयोग तीब्र रुपमा बढ्दैगएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३३०० मा आइपुगेको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । मोवाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ ।

पछिल्लो समयमा नेपालमा बैंकिङ्ग सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सकिन्छ ।

व्यक्तिले बैक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोलेको आधारमा पनि वित्तीय पहुँचको मापन गर्न सकिन्छ । यो विधि अवलम्बन गर्दा सबै निक्षेप खाता गणना गर्नुको साथैएक व्यक्तिको एक भन्दा बढी निक्षेप खाता भएमा सो दोहोरोपना हटाउनुआवश्यक हुन्छ ।

२०७६ जेठ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा स्वदेशी र विदेशी गरी कुल २ करोड ७८ लाख ६७ हजार अर्थात कुल जनसंख्याको ९४.१ प्रतिशत निक्षेप खाता रहेको राष्ट्र बैंकले जनाएको छ ।

यी बैंकहरुमा नागरिकले खाता खोल्दा पेश गर्ने तीन पुस्ते विवरणको आधारमा एक व्यक्तिको एक भन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउदा करिब १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता कायम हुन आउछ । यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको बैंकले जनएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६६÷६७ का अनुसार ४० प्रतिशत घरपरिवार ३० मिनेट भित्र वाणिज्य बैंकमा पुग्न सक्ने स्थिति रहेको छ । तर ग्रामीण र शहरी क्षेत्रमा वित्तीय पहुँचमा उच्च भिन्नता देखिएको छ ।

शहरी क्षेत्रमा ८९ प्रतिशत जनता ३० मिनेट भित्र नजिकको वाणिज्य बैंक शाखामा पुग्न सक्छन्भने ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनता मात्र यो समयमा नजिकको वाणिज्य बैंक शाखामा पुग्ने स्थिति रहेको छ । एक घण्टा भित्र वाणिज्य बैंक पुग्न सक्ने घरपरिवार तराई क्षेत्रमा ७५ प्रतिशत, पहाडमा ४५ प्रतिशत र हिमालमा १७ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा पुग्न लाग्ने औसत समय शहरी क्षेत्रमा १६ मिनेट र ग्रामीण क्षेत्रमा १३५ मिनेट रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version