काठमाडौं : हिमालयन बैंकले २२प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०प्रतिशत बोनस सेयर र १२प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
बैंकले ८५ करोड २० लाख २५ हजार ५८४ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २ करोड २४ लाख ३० हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष हिमालयनले ५प्रतिशत बोनस सेयर र १०.७९प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।
यसैबीच आइसीएफसी फाइनान्सले लगानीकर्तालाई १३प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समिति बैठकले ५प्रतिशत बोनस सेयर र ८प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
गत वर्षको नाफाबाट प्रस्ताव भएको लाभांश अब नियाम नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्नेछ ।
गत वर्ष भन्दा लाभांश दर बढेको छ । गत वर्ष आइसीएफसीले ८प्रतिशत नगद लाभांश मात्र दिएको थियो । पहिलो त्रैमाससम्म आइसीएफसीको खुद नाफा नाफा ३०.३९प्रतिशत ले घटेर ३ करोड ५ लाख ७७ हजार रुपैयाँमा आएको छ ।
प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ ।
